Monday, June 25, 2012

के मैले सही गरें त ?

सोच्थें अब त मेरो जिन्दगीको बहीखातादेखी सारा दुखहरुको हिसाब सिद्दिसकेको छ बाँकी छन् त केवल सुख र खुशीमय पलहरुको जोड गर्न ! कति उत्साहित थिएँ ती पल , ती योजना र सपनाहरुको सुरुवात तिमीसँग गर्नलाई र यो इजरायलको कार्यावधि समाप्त गर्नलाई तर म त्यती भाग्यमानी कहाँ छु र ? सजिलै मेरो
इच्छाहरुको प्राप्तिमय घुम्टो ओढी तिमीसँग नयाँ जिन्दगीको सुरुवात गर्न सकुं ? एक प्रफुल्लित र संतुष्टिमय आत्मा लिई हाम्रो प्रेम विजयी भएको अनुभूति सँग बेहुली बनि तिम्रो दिलको संघारमा एक अटुट , अमिट र पवित्र सम्बन्धको नडगमगिने पाइलाहरु चाल्दै भित्रिन सकुं ? हरकोही कहाँ त्यती सौभाग्यशाली हुन्छन् र विना संघर्ष प्राप्तिको ताज पहिरिएर जीवनको आफ्नै इच्छाअनुसार गुजारा गर्न पाइयोस् !
               जति मबाट सम्भव भइरह्यो , जहाँसम्म मेरो संस्कार र विवेकले सोच्नासक्यो एक असल छोरीको कर्तव्य निभाई नै रहे मेरो सारा रहर , इच्छा आकांक्षाको गला घोटेरै पनि ! मेरो जिन्दगीको हरेक नयाँ रेखाहरु , हिड्नलाई तय गरिएका हरेक नयाँ मार्गहरु मातापिताको सरसल्लाह र अशिषद्वारा नै सुरु गरें तर मान्छेको लोभी , स्वार्थी मन धनसम्पत्तिको मोहमा कति बेला कस्तरी सारा वाचावचनलाई विर्शिएर अर्कै निर्णय लिई त्यही साकार गर्ने अडानमा यती निर्दयी र निर्भिक भै उभिदिन्छ पत्तो नै नलाग्ने रहेछ ! मेरो मन मष्तिष्कमा प्रश्नै प्रश्नको अविरल पहिरो जाना सुरुभयो जब मेरो मातापिताले फोन मार्फत आफ्नै एक सम्पन्नशाली आफन्तको छोरासँग मेरो बिहेको निर्णय गरिसकेको कुरा सुनाउदा जबकी वहाँहरुलाई जानकारी थियो म केही महिनामै मेरो प्रेमीसँग बिहे गर्दैछु भन्ने ! वहाँहरुको लगातार कोशीस भइरह्यो मलाई मेरो इच्छालाई बुझ्ने होइन मलाई सम्झाउने कोशीस , ऐशआरामको प्रलोभन देखाई मेरो प्रेमको गुप्तरुपमा नामोनिशान मेटाउने कोशीस ! गरिबको दुखदायी र अभावपूर्ण मायालाई त्यागेर धनीको वैभवशाली मायालाई स्विकार्नु नै बुद्दीमानी , यस्तायस्तै लाखौ पृथक्ताहरुलाई बुझाउने कोशीस !!!
                 शताब्दी पाचौ होस् या एक्काइसौं तर म हुँ त छोरी मान्छे नै ! मेरो निर्णय मातापिताको नजरमा या भनु पुरा दुनियाको नजरमा तब मात्र सही हुनेछ जब म धेरै धनी , सम्पन्न वर्गको पुरुषसँग प्रेम गर्नेछु र बिहे गर्ने निर्णय लिनेछु जसको बराबरीमा कहिले कोहि आउन सक्ने छैन किनकी मान्छेहरु जान्दछन गरिबसँग नाता जोड्नुको मतलब पीडाको समुन्द्रमा चुर्लुम्ब डुब्नु हो, मान्छेहरु सजिलै देख्दछन् ,गरिबको निधारमा नीरमसीले  कोरिएका दुखाहरुका नमेटिने रेखाहरु जसको परिवर्तन तब मात्र सम्भव छ जब कुनै इश्वरीय चमत्कार हुन्छ तर इश्वर भन्दा माथी आफु छु भन्ने घमण्डमा जिउने धेरै मान्छेहरु कहाँ बिश्वास गर्छन् र यो जमानामा चमात्कार पनि हुनसक्छ भन्ने सम्भाव्यतामा !
                     गरिबसँग प्रेम गर्नु मेरो सब भन्दा ठुलो गल्ती र यो गल्ती मैले सुधार्ने पर्छ मेरो मातापिताको निम्ति जुनसुकै मुल्यमा यदपि  मैले मेरो जिन्दगीको सम्पूर्ण गुजारा मेरो पवित्रआत्मा देखी श्रापित भएरै किन व्यतीत गर्न नपरोस् ! यदपि अप्रत्यक्ष रुपमा मेरो समवेदना , मेरो चेतना र विवेक द्वारा म माथी धिक्करताका र कायरताका अनगिन्ति थप्पडहरु पलपल किन नबर्शीयोस् ! लाग्छ यो मेरो बिहे होइन मलाई विक्री गरिदै छ त्यसैले त मात्र प्रत्यक्ष र तत्काल हुने फाईदाहरुलाई ध्यानमा राखिएको छ ! यो मोडमा आएर पनि म आफ्नो निम्ति केही बोल्न सक्दिन , केही निर्णय लिन सक्दिन , सही गलतको पहिचान गर्न सक्दिन भने मैले आफुलाई मान्छे होइन मुर्तिको संज्ञा दिएँ हुन्छ ! एउटा पुरुषसँग प्रेम गरेर , जिन्दगीको सपना बुनेर , कयौ योजनाहरु निर्माण गरेर आज सुटुक्कै ऊ गरिब छ भनी अर्को अज्ञात धनि पुरुषसँग बिहे गर्नको निम्ति राजी हुनु कतिसम्मको अमानवीय व्यावहार ? कत्रो विश्वास घात ? म यती ठुलो विश्वास घात कसरी गर्न सक्छु ?
             यी सारा अन्तरिक द्वन्दलाई यही समाप्त गरी मैले मेरै प्रेमीसँग बिहे गर्ने निर्णय लिएँ ! मेरो मातापिताको मानसम्मानमा चोट पुरयाउन चाहिन तर यसपाली म मेरो आत्माबाट पनि पुन श्रापित हुन चाहन्न ! मनमा अझै प्रश्नहरुको हल्का वर्षात हुदै थियो मातापिताको मन दुखाएर मेरो प्रेमीको साथ दिएर के मैले सही गरें त ?  

No comments:

Post a Comment