चारै तिर तीजको रमझम, हरेक घर परिवारमा भएका दैनिक समस्याहरुलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् । गीत, गजलमा तीज ! रेडियो, टेलिविजन मा तीज ! जताततै तीजको लहर छाएको छ ।
आज त म पनि साथीहरुसंग किनमेल गर्न जाने योजना बनाएकी थिएँ, उफ ! कसो बिर्सिएन छु । छिटो छिटो तयार भएर लागे साथीको घरतिर ! साथीको घरको गेट सम्म के पुग्दै थिएँ कति खुशी भए सबै निस्कदै गरेको देखेर ! सबै भएर लाग्यौ महेन्द्र पुलतिर ।
“सुजाता ! तिमी सारी किन्ने कि कुर्ता ?“
“सारी !” मैले !
छोटो जवाफ दिएँ !
“कुन रंगको किन्ने ?“ फेरि प्रश्न गरी कमलाले ।
उत्तर दिन छोडेर उल्टै प्रश्न गरिदिएँ मैले, “तिमी कुन रंगको किन्ने ?“
“रातो किन्ने नि“ छोटो जवाफ दिई कमलाले ।
“ल ल रातो सारी आफ्नो लागि र रातो कमिज लोग्नेको लागि लिनु पर्छ ल सबैले हा ! हा !! हा !!!” हाँस्दै बोलिन् तारा ।