Monday, May 21, 2012

कथा- सजाय ( मनोवाद कथा)

परिधिभित्र जीवन सुन्दर र सुरक्षित हुन्छ भन्ने ठान्छन् हाम्रा मै हुँ भन्ने अर्धचेतन , अल्पज्ञानी सस्कारी सम्राटहरु , जो आफनै नजरमा र आफ्नै निर्णयमा आफैद्वारा सम्राट घोषित गरिएका छन् | सस्कार उनीहरुको निम्ति केवल नारीहरुलाई आफ्नो कब्जामा लिने एक रहस्यमय बहाना हो | निहत्था , निर्दोष , असहाय गरिबहरु माथि मालिक बनेर हुकुम चलाउने महान सरल माध्यम हो | त्यसैले त हाम्रो सस्कार भित्र नारी पुरुष हुन्छ , छुतअछुत हुन्छ , पवित्र अपवित्र हुन्छ , धनि गरिब हुन्छ र प्रत्यक सँग गरिने अलग अलग व्यवहार हुन्छ र प्रतेकले भोग्ने अलग अलग सजाय हुन्छ |

मान्नै पर्छ नारीलाई दास र थिच्ने कुनियम बनाउने हाम्रा कठोर निर्दयी पुर्खाहरुलाई ; नारीमाथि पिताको नामले , पतिको नामले अधिपत्य जमाएर जति सुकै अन्याय गर फेरि पनि विचरीहरु यही मेरा भगवान भन्दै भोकै उपवास बस्दै पुजा गर्छन् , चाहे ती नारीहरु जतिसुकै शिक्षित किन नहुन् ? नेपाली समाज त्यो पनि गाउँ घर जहाँ सस्कारको नाममा कुसंस्कारले जडो नै गाडेर बसेको छ , सीमा नाग्दा पाप नामको महान् पहाड द्वारा थिचिएर जिउँदो रहुन्जेल प्रत्यक्ष रुपमा अनेकौ सजायको भागीदार हुनुपर्ला भन्ने सन्त्रासले गर्दा परिधिभित्र अप्रत्यक्ष रुपमा भयानक सजाय भोगिरहन्छन् कायर मानसिकताका मान्छेहरु र जीउँदो मान्छेहरुको सजीवता लुटेर , इच्छाआकांक्षालाई कुसंस्कारको जन्जिरले बाँधेर श्वाश्प्रश्वासको गतिशीलतामै मृत्यु रोपेर जीउँदो लाश बनाइदिन्छन् संस्कारी हुँ भन्नेहरु |

यो साँघुरो , संकुचित सीमा र परिधिभित्र घटेको कति आफ्नै आँखाले देखेको सत्यतालाई म चाहेर पनि भुल्न सक्दिन | उफ ! यो मेरो स्मरण शक्तिलाई पनि कुनै भाइरसले ड्यामेज पारीदिए हुन्थ्यो जस्तो लाग्छ | सबै का सबै घटनाहरु गंगाको पानी जसरी सललालाला बगिरहन्छ रोक्ने नामै लिदैन ! अल्पज्ञानीहरु स्वतन्त्रताको अर्थ सिधै नग्नता भन्ने बुज्छन् तर स्वतन्त्रताले मानिसलाई नग्नता होइन पुर्णता दिने गर्छ ! आवश्यकता भन्दा बढी मानिसमा दमन , नियन्त्रण गर्दा नै त असोचनीय अपराधहरु जन्मने गर्दछ ! सजाय ! महान , भयानक र अप्रत्यक्ष सजाय , जुन सजाय भोग्दै मानिस पलपल आफ्नै जीउँदोपनामा मरिरहेका छन् र त्यो मृत्यु आफै आभास गर्न बाहेक कोहि अरु देख्न सम्म सक्दैनन् | हो त्यही सजाय भोग्नेहरूको यादरुपी पहिरो जाँदैछ मनमा क्रमश ..

घरमा कोहि नभाको बेला एकान्तको मौका छोपेर त्यो मोटे जड्याह दाइले डांडा घरकी कान्छीलाई बलात्कार गर्दा कहाँ कुनै उजुरी भयो र ? झन ती कान्छीका सारा परिवार नै चुपचाप बसे उजुरी गर्दा अरु इज्जत जाला भन्ने डरले र छोरी जिन्दगी भरी माइतीमै साँचीएला भन्ने पीरले ! कान्छीको मान सम्मानमा ठेस पुगेको खै हिसाब किताब ? यहाँ त नारीलाई यस्तो संस्कार दीइएको छ ,पारिवारिक र सामाजिक इज्जतको निम्ति यस्ता हजारौ कान्छीहरु आफ्नै नजरको कालकोठरीमा बन्द बनि तड्पिदै छट्पटीदै महासजाय भोग्न बाध्य छन् आजको यो एक्काइसौ सताब्दीमा पनि ! खै कहाँ उनको इच्छाको सोधीखोजी ? उनको चाहको कदर ? उनको मानवअधिकार ?

अनि त्यो अरब पसेको माइला दाइको स्वास्नीको हालत देख्दा त उफ ! यौन इच्छा थाम्न नसकेर त्यो परालको टौवा जस्तो कपाल भएको हाउडे साइला दाइ सँग केही रात विताउँदा र मस्तीको बेला फोटो खिचाउदा समाजमा बेइज्जत भइने डरले कुकुरको कठपुतली नै भएकी छिन् ती भाउज्यु ! त्यो क्षणिक रहर बाध्यता बनेर झुन्डिएको छ उनको वर्तमानमा ! लुकिछिपी ओछ्यान मात्र कहाँ तताउने हो र ? लोग्नेले विदेशमा कमाएको सारा पेशा नै पो त्यो मोरोलाई बुझाउने गर्छिन् रे , गर्नु ब्ल्याक मेल गरेको छ परालको टौवाले उनलाई |

गरिबै भएपनि मेरो गर्ल फ्रेन्ड नभाको त कहाँ हो र ? तर मोरीले एकपटक छुन देको भए त मरिजाउ ! मान्नै पर्छ हाम्रो संस्कारलाई , खुब कब्जामा लिएको छ पन्चानब्बे प्रतिशत नारीहरुलाई यो कलियुगमा पनि | विचरी ! रोक्न बाध्य हुन्थी होलि यौबनको सुनामी उर्लेपनी मनभित्र ; जो कुमारी हुनुको प्रमाण देखाउनु थियो सुहागरातमा बलात्कार हुँदै आफ्नो लोग्नेलाई ! हैन भने त हाम्रो समाजको संस्कारी बुद्दिजिवी पुरुषहरुको नजरमा सिदै गिर्न पुग्दछन् नारीहरु | संस्कार र पवित्रताको सिधै सम्बन्ध सुहागरातमा हुने बलात्कार सँग नै त सार्थक बानाइ दिएका छन् हाम्रा निर्दयी सीमारेखा कोर्ने पुर्खाहरुले | उफ ! विवाहित भएर पनि खुलेर एक अर्कासंग यौनक्रीडा गर्न पाइदैन भने त्यो कस्तो सुहागरात ? त्यो त मान्यता प्राप्त बलात्कार हो जसको कुनै उजुरी हुँदैन र सजाय तोकिदैन | होइन भने तल्लो घरे दाजुले आफ्नै सुहागरातलाई बलात्कारको घटना जसरी किन वर्णन गर्थे हितैषी मित्रहरुसँग ; के थाह ? शायद ती भाउज्यूले पनि आफ्नी संगिनीहरुसंग सुहागरातलाई सुहागरात जसरी होइन बलात्कार जसरी नै भनेकी हुँदी हुन् ? यस्तो छ हाम्रो सोंच ! पवित्रताको प्रतिक बलात्कार अर्थात् बलात्कृत हुनु ! मसंग विहे गरेपनि म तिमीलाई के नै दिन सक्थे र ? यो मेरो चार , पांच हजारको जागिर खाएर ! नारीहरुलाई खुब सजिनु पर्ने आदत बसिसकेको छ , एक तोला सुनको भाउ साठी हजार हो भनि सुन्दा पखाला लागेकै भएपनि दिशा अड्किन्छ मेरो ; सारी कम्तिमा पनि दुइ , तीन हजारको किन्नै पर्यो त्यसैले गई धनीको छोरासँग विहे गरेर | हामी गरिबका स्वास्नीहरुले त दुइ , तीन सयमा आउने सस्तो जंगे लगाएकै वेश हुन्थ्यो , नाक , कान , घांटी हात गहना बिनाको बुझ्जै हिंडेको वेश हुन्थ्यो ! तर के गर्ने म एक्लै ले भनेर गरेर नहुने ?

कहिले काँही यो मूर्ख पुर्पुरोले त यो सोच्न पनि बाध्य हुन्छ ; हाम्रो देशका सरकारी अलि हात मार्न सक्ने पदमा आसिन भएका कर्मचारीहरु र नेताहरु पनि यहि स्वास्नी मान्छेको महँगो सारी र गहना कै लागि भ्रष्टाचार गर्न बाध्य हुँदा हुन् ! हैन भने मर्दा लगिने होइन फेरि कुर्ची र देशैसँग किन यत्रो गददारी ? अनि भ्र्ष्टचारी ? संस्कारको छाप त नेपाली पुरुषमा पनि दह्रो परेको छ हामी आफै जे गरेर भएपनि महिलालाई सुसज्जित भएको हेर्न मरी मेट्छौ | पाँच तोला सुनको गहना बनाउने तीन लाख रुपियाँले आम्दानीको कुनै स्रोत जुटाएको भए किन नेतालाई भ्रष्टाचार र युवालाई बिदेशीको गधा भएर वर्तामानी बाँझोमा यसरी जोतिनु पर्थ्यो ? सारा स्वाभिमानको टोपी , पच्छ्यौरी उतारेर ? हामी आफै हेर्न सक्दैनौ नारीहरुलाई बिकसित देशका स्वतन्त्र महिला जस्तै सेन्टी भेष र स्कटमा ; नाक , कान , घाँटी हात रित्तो बनाइ हिंडेको ! स्वतन्त्रतामा बाँचेको ! अपराधको गहिरो नाता कपडा र स्वतन्त्रतासँगै जन्मिने हो भने किन बन्धनभित्रै र कपडाले पूर्ण रुपमा छोपिएको तनमन भित्रै हजारौ अपराधको जन्म हुने गर्दछ किन हाम्रै समाजमा कयौ गोप्य अपराधहरु जन्मने गर्दछन् र सुरक्षाको निम्ति कोरिएको सीमारेखा भित्रै मानिसहरु मानसिक सजाय भोगिरहेका छन् ? खै कहाँ छ ? सुरक्षाको अर्थ ? सीमारेखा कोरिनु को अर्थ ? खास्टोले ढाकिनुको अर्थ ? इमान्दारिता , मानवता , सम्वेदना , सहिष्णुता , समानता , प्रेमभाव , आदरभाव यी सबैलाई नंग्याएर बुर्काले शरीर छोपिनुको के अर्थ ? यहाँ त पुरुषजातिले जे गर्दा पनि ऊ पवित्र , इज्जतदार , गिर्दा , उठ्दा जे गरे पनि उसलाई सुहाउने , शोभा दिने र अन्यायमा पर्दा कोहि स्वास्नी मान्छेले आवाज उठाउछे भने उनलाई घृणा र तिरष्कारको भयङ्कर सजायारुपी इनारमा लगेर फालिन्छ ता कि त्यो इनारको गहिराइ भित्रको छट्पटाइको कल्पनाले मात्रै पनि हरेक अन्यायमा पर्दा न्याय माग्न हिम्मत जुटाउने त्यो जमातलाई निरुत्साहित पारिदियोस् र यस्तै नै त हुँदै आइरहेको छ आज सम्म पनि होइन भने डाँडा घरे कान्छीलाई त्यो मोटे दाइले बलात्कार गर्दा त्यो दाइको बेइज्जत र बहिष्कार गरिनु पर्ने ठाउमा किन ती निर्दोष बलात्कृत कान्छीलाइ चुप गराइयो ? खै हाम्रो संस्कारी ठुलाबडाहरुले शिरदेखि पाउ सम्म ढाकिएको कपडा त्यो दुष्टले त्यसरी उतारिदिंदा केही बोलेको ? र ती कान्छी स्वयम्ले बिरोध गरेको ? यसरी नै हाम्रो सुरक्षित समाजभित्र कयौ अपराधहरु सिरक ओढाईएरा राखिएको छ किनकि यहाँ हरेक कुरा ढाकिएको हुनु पर्छ आइमाईको शरीर जसरी नै | अनि त्यो माइली भाउजु आफ्नो गल्ति स्विकार गरेर त्यो हाउडे दाइको पन्जाबाट मुक्त हुनुको सट्टा झन् गल्ति लुकाउदै आफ्नो साथसाथै पुरा परिवारको भविष्य बर्बाद गर्दै छिन् , जब दुबै मिलेर अनैतिक सम्भोग गर्ने गल्ति गरे भने आज किन त्यो हाउडे दाइ ती भाउजुलाई ब्ल्याक मेल गरिरहेका छन् ? र ती भाउजु कठपुतली बनेर नाँची रहेकी छिन के यो यहि साँघुरो सोंच र नियन्त्रणले जन्मेको सन्त्रास होइन र ? पुरुषको गल्तीलाई गल्ति मानिदैन र नारीको गल्तीलाई माफी दिईदैन यो कस्तो संस्कार , कस्तो समाज ?

यस्तै यस्तै सजाय बिहिन अपराधीहरुको आँखासामुको दृष्टान्तले नै त मलाई पनि यो अपराध गर्न उक्सायो | एकान्त ठाउँमा एक्ली केटी देख्ना साथ किन कात्तिके कुकुर जसरी चम्कनु पर्थ्यो र मलाई ? मन्को यौन तृष्णा नियन्त्रण गर्न नसकेर किन घाइते बाघ जसरी झम्टनु पर्थ्यो र मलाई ? न शिकार गर्न सफल भइयो न त सजायबाट उम्कन ? कस्तो दुर्भाग्य मेरो ! अवला सम्झेर नगिना माथि पो हाम्फालेछु ! सबै डाँडाघरकी कान्छी जस्तै निहत्था , निमुखा र सोझी कहाँ हुँदा रहेछन् र यी नारीको जात दुर्गा र काली जस्तै भयङ्कर जाइलाग्ने पनि हुँदा रहेछन् , साँच्ची डल्ली तिम्रो शरीरमा त दुर्गा माताले नै वास गरेको हुनुपर्छ ; होइन भने यत्रो आँट कहाँ बाट आयो गुन्यु चोली भित्र बन्द नारी मनमा ? झुम्का , फुली , पोते , चुरा ले बाँधिएको नारी पनमा ? आफ्नो सिंगो भविष्यको सन्ताप गर्न छोडेर मेरो विरोध गर्ने ! आफ्नो भोलिको सुरक्षा गर्न भुलेर पुरा गाउँले बटुलेर सबको सामु मलाई अपराधी घोषित गर्ने र मेरो निम्ति सजायको माग गर्ने ? मान्नैपर्छ डल्ली तिमीलाई , तिमीले त एक बलात्कारीलाई उल्टै बलात्कार गरिदियौ त्यो पनि सारा गाउँले सामु ! आज यो कपडा पहिरीए पनि मलाई नग्नता महसुस भै रहेछ | सर्म लागीरहेछ यो पराजयमा | तर मन भित्र तिमी प्रति कुनै रिस , वैरी भाव जन्मिएको छैन खै किन सम्भव भए र अवसर मिले सम्म तिम्रो सामु शिर झुकाएर माफी माग्दै पश्चाताप गर्ने इच्छा जागिरहेको छ जबकी यो सब असम्भव छ | म पनि त्यति खराब मान्छे पक्कै होइन तर यो म भित्रको कुण्ठित यौनको बाँध फुट्दा म बलात्कारी बन्न पुगें | म जान्दछु तिम्रो नजरमा म पूर्णरुपमा गिरिसकेको छु तर तिम्रो त्यो हिम्मत , साहस र वीरंगना पनसंग मलाई प्रेम भएछ क्यारे दुनियाले निकै हिच्किचाउला तिम्रो हात थाम्न तर म त तिमीसंग सुन्दर भविष्य देख्छु किनकि तिमीसँग टक्र्याउने हर चिजले केहि सिक्नेछ , केहि बुझ्नेछ जसरी म बुझिरहेछु ! तिमी आफ्नो सुरक्षा आफै गर्न सक्छौ , आफ्नो न्यायको निम्ति आफै आवाज उठाउन सक्छौ म ढुक्क छु तिमी बाट जन्मने सन्तान पनि कायार होइन वीर , वीरंगना नै हुनेछन् ; जसले यो कुसंस्कारको सिधै बहिष्कार गर्नेछन् ! तिमीले जस्तै यो स्वार्थी र सकारात्मकतामा अपाहिज समाजबाट अपहेलित हुने त्रास मनमा लिई ठुल्ठुला अपराधहरु मनभित्रै गोप्यतामा दफन गरी पलपल आफै भित्र मरेर अप्रत्यक्ष रुपमा मानसिक सजाय भोग्न राजी हुने छैनन् जो हामीलाई हाम्रो यो कुसंस्कारले जबर्जस्ती भिडाइदिएको छ शरीरको अभिन्न अंग जसरी हामी भित्र ! यो संकुचितताको घेराभित्र , यो सुरक्षाको बन्धन भित्र कयौ मानिसहरु आफ्ना सारा यौन इच्छाहरुलाई कुण्ठित पार्दै , कयौ अपराधहरुलाई आफैभित्र दफन गर्दै आफ्नै नजरको बन्दी बनेर भयङ्कर अप्रत्यक्ष सजाय भोगिरहेछन् र जब सम्म यहाँको संस्कारमा हरेक जातिमा समानता , स्वतन्त्रता दिइने छैन यो शिलशिला पनि रोकिने छैन !

कसो कसो मेरो आँखा प्रहरीको आँखा सँग जुध्न पुगेछ र झस्के म त जेलभित्र सजाय पो काटी रहेछु , मनभित्र एकोहोरो गईरहेको कुराहरुको पहिरो पनि टक्क अडियो ..................!

समाप्त !
( नोट :- यो मेरो कथा लेख्ने प्रयासमा धेरै त्रुटिहरु भएका होलान् कृपया इमान्दारी पुर्वक टिप्पणी गरीदिए आभारी हुने थिएँ ! धन्यवाद ! )

No comments:

Post a Comment