Wednesday, June 20, 2012

प्रयाश्चितकी सम्राज्ञी

कुनै पल मलाई
निस्वार्थ प्रेम गर्नेहरुको महत्व नबुझ्दा
कृतघ्न बनि हरेक सबन्धको उपेक्षा गरिरहें ,
कहिले कुपुत्री बनेर
 आमालाई सर्मिन्दाको आँशु पिलाएँ ,
कहिले चरित्रहीन हुँदै

देवता जस्तो लोग्नेको अगाध विश्वासलाई भष्म बनाइ
वैवाहिक सम्बन्धको बद्नाम गराएँ ,
आफ्नो स्वार्थको निम्ति
 जिएरै सन्तानलाई जानीजानी टुहुरो बनाएँ ,
सुन्दरताको अहमतामा
क्षणिक एश आराम प्राप्तिको लागि नैतिकता ,
मानवतालाइ नै दुष्टताले हराएँ
जब
चाउरिएको अनुहार सँगै
 मनको अभिमान निहत्था हुँदै गयो ,
यो कुरूप , निर्दयी मनभित्र
जब
 एउटा आभास जन्मिन थाल्यो
आफ्नोपनको अभाव , आफ्नाहरुको अभाव
तर धेरै वेर भै सकेको थियो
 त्यो पल मेरो निम्ति हर सम्बन्धको ढोका बन्द भै सकेको थियो ,
म विना नै सबैले बाँच्न जानिसकेको थियो ,
मैले गरेका अक्षम्य गल्तीहरुको बोधरुपी भुमरीले
शेष आशाको विनाश गरी
क्रमश आत्महत्या गर्नलाई मजबुर गर्थ्यो
तर जीवनको त्यो निकृष्ट पलमा पनि
आफैभित्र एक आत्माविश्वास जन्माउन सफल बने
सबै सबैबाट तिरष्कृत र बहिष्कृत भएपनि
म स्वयम आफैले आफैलाई जीवन जिउने एक मौका दिएँ ,
मैले गरेको कुकर्मको कालो डोबहरु मेट्न
पश्चाताप गर्ने प्रण गरें !
म मेटेर देखाउनेछु सुधारले सारा गल्तीहरुलाई
म जितेर देखाउनेछु गुमाएका सारा विश्वासहरुलाई
 म आफै एक दृष्टान्त बनि बाँच्न सिकाउनेछु
 हरेक अक्षम्य गल्ति गर्नेहरुलाई

प्रमाणित गर्नेछु
आफ्नो अपराधको बोध हुँदा आत्माहत्या गरेर होइन
आत्महत्यालाई  नकारेर
 बाँचेरै पश्चाताप गरी
 प्रयाश्चितकी सम्राज्ञी बन्न सक्नु पर्छ  !
हो !
ए , अक्षम्य गल्ति गर्नेहरु
 आत्महत्यालाई प्रतिकार गरेर
 प्रयाश्चितकी सम्राज्ञी बन्न सक्नु पर्छ  !

No comments:

Post a Comment