खै दुनियाँको नजरमा म बाठी देखिन्छु कि बुद्दिमानी त्यो त मलाई थाह छैन तर मैले चिनेको म ? लाटी छु र धेरै सोझी : त्यसैले त अपत्यारिलो ढंगले मेरै आफ्नाहरुले मलाई यसरी लुट्न सके फेरि पनि म आफ्नो खुशी , रहर लाइ पन्छाएर उनीहरुको खुशी रोज्छु र उनीहरुकै रहर पुरा गर्ने प्रयासमा लागिरहन्छु | मन लाग्छ यो दया र मायाले भरिएको कोमल मनलाई मारीदिउं ? र पत्थरको मन आविष्कार गरुं !
तर असफल हुन्छु र सोच्छु जीवनको अन्तिम श्वास फेरुन्जेल असफल नै रहनेछु यो मन फेरेर ढुंगाको बनाउन ! प्रश्न गर्छु आफ्नै आत्मासँग , खै कहाँ मेरो माया र ईमान्दारिताको कदर गर्न जानेको मेरो आफ्नोहरुले ?
“ नानु ! ” कसैको आवाज र स्पर्शले मेरो मनोवादलाई विथोल्दै मलाई वास्तविकतामा ल्यायो |
नियाली हेर्दा इजरायल आउने शिलशिलामा हिब्रु भाषाको कक्षा लिंदा भेटेको दिदी हुनुहुन्थ्यो वहाँ ! खुशीले निकै उफ्रिएँ म !
“ दिदी ! सन्चै हुनुहुन्छ ? काम त्यही हो ? अनि कस्तो चलिरहेछ ? नभेटेको पनि धेरै भयो ? आह ! कति खुशी लाग्यो हजुरसँग भेट हुँदा ! “
“ काम अहिले रमतगानमा गर्छु , फुर्सद भए बसौ न पार्कमा तिमीसंग धेरै कुरा गर्न मन छ , फुच्ची ! बल्ल बल्ल भेट भाको ! “
दिदीको अनुरोध स्वीकारें र हामी पार्कको एक छेउमा छुट्टै दुबैजना मात्र बस्यौं ! दिदीले मेरो कपाल सुम्सुम्याउँदै भन्नु भयो , “ के हो नानु त पचास हजारको जागिर खाने भैसक्दा पनि पहिले जस्तै कुनै घमण्ड नै छैन ! गोरी दिदी र म सधै तिम्रै कुरा गरिरहन्छौ भेट भाको बेलामा | हामी अनपढ मान्छेलाई काठमाडौंमा भाषा सिक्दा तिमीले साथ र हौसला नदेको भएँ शायद इजरायल आउने हिम्मत गर्न निकै गाह्रो पर्थ्यो ! हाम्रो आत्माले तिमीलाई सधै आशिष दिई रहन्छ ! “
“ दिदी ! अनि याफुको काम चाँही छोड्नु भाको त हजुरले ? “
“ कहाँ छोड्नु ? म सँग के के भयो तिमी त सोच्न पनि सक्दैनौ फुच्ची ! अरु दिदी र साथीहरु कसैले तिमीलाई केहि भनेनन् र मेरो बारेमा ? “
मैले टाउको हल्लाउँदै भनें , “ अँ ह , मलाई त केहि थाह छैन , के भो र दिदी ? “
दिदी अलि अँध्यारो मुहार बनाउँदै बोल्न थाल्नु भयो , “ उफ ! नानु , अभागी मान्छे जहाँ गएपनि दुख र पीडा मात्र भेटिँदो रहेछ ! धेरै दुख पाएँ मैले मेरो जिन्दगीमा प्रेम गरेर अन्तरजातीय विवाह गरे पश्चात् ! म अनपढ छोरी मान्छे माइती र घर दुबै तिरबाट हेपिंदा , बेरोजगार लोग्ने , कम्जोर आर्थिक अवस्था कम कष्टकर भएन यो जिन्दगीको एक एक पल विताउन ! गुरुङ की छोरी त्यसमा पनि अनपढ तल्लो जातको बिहे गर्यो भनेर सासु ससुराले पनि हामी अधिकारीको इज्जत फालिस भनेर घर अंश बाट वन्चित गरीदिए पछी मेरो लोग्ने यीसब कुराको सामना गर्नुको सट्टा हार मान्दै रक्सीको सहारामा जिउन थालेपछि स्वास्नीको कर्तव्य निभाउन मै लाइ कर लाग्यो | छोराछोरी जन्मिए पछी खुवाउनु पर्यो , पढाउनु लेखाउनु पर्यो | सारा सारा जिम्मेवारी निभाउनलाई मै त बाँकी रहें ! “
काठमाण्डौ को छोटो बसाइमा दिदीको मन्को धेरै नजिक हुन पुगेकी थिएँ म किनकि हिब्रु भाषाको कक्षामा सरले जति सिकाउनु हुन्थ्यो त्यो भन्दा कयौ गुना बढी म सिकाउँथे अर्थात दुइ तीन जना साक्षर दिदीहरुलाई सिक्नमा म धेरै मदत गर्थें ! विदेशिनुको हरेक सँग आ आफ्नो छुटै समस्या र बाध्यता हुँदोरहेछ ! मेरो बाध्यता अलग , दिदीको बाध्यता अलग ! दिदीहरु भन्नु हुन्थ्यो यो उमेरमा पढाई लेखाइ नगरी , घरजम नगरी किन विदेश हिंडेको ? म पनि भन्दथे , लोग्ने , छोराछोरी भाको मान्छे आफ्नो घर नसम्हालेर किन विदेश लाग्ने ? तर हरेक सँग रहर होइन घर छोड्ने , देश छोड्ने कर छ ! बाध्यता छ ! विवश्ता छ ! यस्तै यस्तै धेरै समस्या र बाध्यताहरु हुँदोरहेछ |
दिदीहरुलाई देख्दा र वहाँहरुको जीवन भोगाईको कुरा सुन्दा आज पनि सोच्छु मानिसको निम्ति उसको जीवन नै एक यस्तो पाठशाला हो जहाँ नचाहेरै पनि सयौ कुराको प्रयोगात्मक अध्यन गर्न मानिसले औपचारिक रुपमा दाखिल हुनै पर्छ यदपि यो शिक्षाको महत्व र फाइदा थोरैले मात्र आभास र उपयोग गर्ने गरेका छन् ! हरेक दिन नयाँ पाठ सिकाएर , नयाँ भोगाई दिएर अनि नयाँ परिक्षा लिने गर्छ यो जीवन मानिस सँग ! हामी सबै आजीवन विद्यार्थी बनि रहन्छौ यो जीवनरुपी पाठशालामा नजानेरै , नचाहेरै , थाह नपाएरै ! मैले देखेकी थिएँ पाँच वर्षको उमेरमा सिक्नु पर्ने क , ख र अ , आ , इ , ई पैतिस , छत्तिस वर्षको उमेरमा सिक्नलाई कति मिहेनेत र रात भरि जागा बसेको वास्तविकता | आज आएर यी सब कुरा वहाँ हरुले रहरले होइन करले , बाध्यताले सिक्दै हुनुहुन्थ्यो | किनकि वहाँहरुको जीवनको आजको आवश्यकता र माग नै जसरी हुन्छ आधारभूत अक्षर चिनेर साक्षर बन्नु थियो | दिदीहरुको राहदानीमा इजरायलको भिजा लाग्दा नेपाली उखान “ तँ आँट म पुर्याउछु ! ” भन्ने कुरा प्रमाणित भएको थियो मेरै आँखा सामु !
जीवनमा संघर्ष त गर्नु नै छ | पढाई लेखाइ नभएमा झन अझै बढी समस्याहरु आइपर्छन् हामी हिड्ने बाटो हरुमा ! इजरायल आए पश्चात पनि दिदीसँग भेटघाट हुने गर्थ्यो मेरो ! वहाँको काम गर्ने घरमा गएकी पनि थिएँ म | दिदीको काम दुइ वटा बिरामी बच्चा हेर्नु पर्ने थियो त्यो पनि सबै मेसिनबाट खुवाउने , दिशा पिसाब गराउने ! खै समयले पनि कस्तो परिक्षा लियो दिदीसँग ? तर यो परीक्षामा पनि दिदी उतिर्ण हुनु भएछ ! एउटा भनाइ छ नि अंग्रेजीमा , तिमी जति सुनेर बुज्दछौ त्यो भन्दा धेरै गुणा हेरेर बुझ्दछौ तर जब तिमी त्यसलाई आफै गर्छौ सुनेको र हेरेको भन्दा कयौ गुणा बुज्दछौ र जान्दछौं | यहि नियम यहाँ निर दिदीमा लागु भयो त्यसैले त सजीलै सफल तरिकाले बिरामी बच्चाहरुको हेर चाह गर्न सफल हुनु भयो |
वहाँको जीवनमा फेरि अर्को अप्ठेरो | दिन रात भोक , निन्द्रा बिर्सेर हिब्रु सिक्नु भयो फेरि वहाँको विरामी अर्थात इम्प्लोयर हिब्रु भाषा होइन इंग्लिस र स्पेनिस भाषा पो बोल्ने परेछ | दिदीलाई न इंग्लिस आउथ्यो न स्पेनिस ? फेरि पनि मानिस सँग हरेक कुरा बुझाउन सक्ने एक वैकल्पिक भाषा हुँदोरहेछ भन्ने कुरा त्यति बेला मैले थाह पाएँ त्यो वैकल्पिक भाषा थियो सांकेतिक अर्थात इशाराको भाषा जून भाषाको प्रयोग बिशेष रुपमा लाटा ,बहिराहरु बोल्ने र प्रयोग गर्ने गर्दछन् ! मानिसको भोगाई र परिस्थितिले कति सोच्दै नसोंचेका मानिस भित्र रहेको निष्क्रिय पक्षहरुलाई यसरि प्रष्फुटन र सक्रिय गराई दिँदोरहेछ जून कुरा नसिकेरै मानिस जान्दछ र जान्न र सिक्न बाध्य हुनेगर्छ |
वहाँहरुको इशाराको भाषा तीन चार घन्टासम्म लगातार हेरी रहंदा शायद मेरो अनुहारमा हैरानी छर्लङ्गै देखिएछ क्यारे त्यो दिदीले हेर्ने विरामी बच्चाहरुको आमाले त्यतिबेला भनेको शब्दहरु अझै याद छ मलाई ! “ हामी बोल्ने नै यसरी हो , मायालाई इंग्लिस आउदैन र मलाई हिब्रु आउदैन ! पहिलाको केयर गिबर इंग्लिस बोल्थ्यो तर मेरो बच्चाहरुको निम्ति जून दया र माया म उनीसंग आशा गर्थे त्यो उनले दिन सकिनन् त्यसैले मैले अर्कै केयर गिबर मागें | मायाले त मैले भन्दा बडी माया गर्छिन् मेरो बच्चाहरुलाई त्यसैमा म खुशी छु ! “ त्यस आइमाइको कुरा सुनेर एउटा कुरा चाही मैले पनि जानें कि मानिसको असल व्यवहार नै हरेक भाषा र हरेक शिक्षा भन्दा सधै उच्च र माथी हुँदोरहेछ | दिदी पनि सन्तुष्ट नै हुनुहुन्थ्यो काममा | पछी पछी हामी बीच सम्पर्क नै हुन छाड्यो किनकि म पनि मेरो जिवनको हरेक खुट्किलाहरू सजीलै उक्लन पाउने भाग्यमानी मान्छेहरुमा पर्दिनथें | इजरायल आए पश्चात मेरो जीवनमा पनि कम समस्यहरु नआएका होइनन् , आफ्नै जिवनको उतारचढावहरु झेल्न मै म व्यस्त भएँ शायद यहि कारण थियो दिदीसँग डेड वर्ष जति सम्पर्कमा आउन नसक्नुको कारण |
दिदीसँग मैले आत्तिदै सोधें , “ के भयो र दिदी त्यस काममा ?”
“ फुच्ची ! पछी मैले हेर्ने दुइ वटा बिरामी बच्चा मध्य एउटा बच्चा मर्यो अनि त्यो बच्चा आफै मरेको होइन मैले मारेको भनेर सोच्नै नसक्ने आरोप लगाएर प्रहरी बोलाएर मेरो मलिक्निले अनि मलाई हत्कडी लगाएर प्रहरीले गाडीमा जबर्जस्ती हालेर जेल लैजाँदा म त यति रोएँ त्यो गाडी भित्र इजरायली प्रहरीको बिचमा मेरो निर्दोष हातमा लागेको हत्कडी हेरेर ! मेरो छोराछोरीको भविष्यको बारेमा सोंचे अब के होला ? कसो होला ? उनीहरुको लागि बाबा भने पनि आमा भने पनि म नै हुँ ! अनि मेरो जड्याह लोग्ने जसले म सँग बिहे गरेकै कारण आज सम्म आफ्नो परिवारबाट यति धेरै तिरष्कार सहेर बाँचिरहेछ जब उसले यो सब कुरा थाह पाउनेछ के वित्ला उस माथी ? उसको कायर मनले के निर्णय लेला ? मेरो बच्चाहरु अब कसरी बाँच्लान् ? यीसब कुरा मन भित्र गुनेर झन रुन मन लाग्थ्यो | कति सपना बुनेर विदेश आएँ तर विदेशमा यो कस्तो दिन देख्नु पर्यो ? अब म निर्दोष नै भए पनि को आउँछ र मलाई निर्दोष प्रमाणित गर्न यो विरानो मुलुकमा ? हे ! भगवान , के पाप गरेकी थिएँ र मैले जो यति धेरै सजाय दिंदै हुनुहुन्छ ? त्यो बच्चालाई मैले आफ्नै कोखबाट जन्माएको बच्चा भन्दा कम माया गरेकी थिइन ! फेरि किन आज यो घिन लाग्दो आरोप म माथी लाग्यो ? किन ? त्यो बच्चा को मृत्यु हुँदा त्यसको आमालाई जति आघात पुग्यो त्यसको एक रति पनि कम आघात मलाई पुगेको थिएन होला , फेरि किन उसको आमाले यो धाइआमाको मन , माया र ममतालाइ दोषी ठहर्याई दिई किन ? आज सम्म जहिल्यै म आफै अरुबाट ठगीए : हेपिएँ ; तर मैले कसै सँग जालझेल गरिन ! हे ! भगवान , हजुरलाई त सबै सत्यता थाह छ नि ? मेरो इमान्दारिता , मेरो निश्छलता , मेरो निस्वार्थता ! मलाई बचाउनुहोस् भगवान ! विन्ती मलाई बचाउनुहोस् ! “ म पागल जस्तै मनमनै गुहारी रहें भगवानलाई ! धेरै आत्माविलाप सुनाइँ रहें आँशुको धारा बगाउँदै ! अझै पनि म जेलमा पुगेकी थिइन ! अचानक प्रहरीलाई फोन आयो ! त्यो फोन गर्ने अरु कोही नभएर मेरै मालिक्नी थिइ ! खै के भनी ? प्रहरीले गाडी फर्काएर मैले काम गर्ने घरतिरै लग्यो | र मेरो हातको हत्कडी पनि खोली दियो | त्यस आइमाईलाई निकै करायो पनि र केहि कागजमा दस्तखत गराएर त्यहाँ बाट गयो | म त होसमै थिइन शायद ! मेरी मालिक्नीले म सँग रुदै माफी माग्दै भनी , “ तिमी मुक्त छौ , मैले तिमी माथी लगाएको सारा दोष , आरोप फिर्ता लिएँ ! म सर्मिन्दा छु मेरो यस गल्ति प्रति , मलाई माफ गरिदेउ माया ! “ |
म चुपचाप बसिरहें एक कुनामा | देह त्याग गरिसकेको मेरो प्राण पुन फर्की आयो | मृत्युको मुखमा पुगेर फर्की आएँ म ! विना कुनै लडाई ? विना कुनै गवाही म निर्दोष प्रमाणित भएँ ! म सजायबाट मुक्त भएँ ! आत्मामा एउटै आभास भयो ! एउटै आवाज गुन्जियो , “ सत्ययुग होस् या कलियुग ? स्वदेश होस् या विदेश ? जतिसुकै सास्तिपूर्ण परिस्थितिको सामना गर्नु परेता पनि जीत सत्य र इमानदारिता कै हुने रहेछ यहि कुरा को ठोस प्रामाण दियो मसंग घटेको यस घटनाले ! यस घटनाले मलाई सहि मार्ग मा हिड्ने थप हौसला र प्रेरणा दिएको छ ! “ मुस्कुराउँदै बोल्नु भयो दिदी !
दिदीको जीवनमा घटेको यो घटना बारे जानेर यहि कामना गरें कि यसरी नै हरेक जीवन , हरेक युगमा सत्यको जीत होस् र भै रहोस् सधै सधै !
* समाप्त *
नोट : ( यो घटना सत्य हो मात्र सब्दहरु मैले संयोजन गरें ! )
No comments:
Post a Comment