Sunday, January 6, 2013

नारी हुनु मै गर्व गरौँ !

विदेशमा भएपनि यसपालीको तीज नेपाली दिदीबहिनीहरु मिलि हाँसीखुशीका साथ् दुखसुख साट्दै मनाइयो | नेपाली दाजुभाइहरु द्वारा इजरायलको तेलाविव शहर स्थित चिल्ड्रेन पार्कमा आयोजना गरिएको तीज महोत्सव कार्यक्रममा रात दिन कामकाजबाट विरक्तिएका हामी नेपाली चेलीबेटीहरु मनको धोको पुग्ने गरी नाच्यौ , गायौ र सम्पूर्ण दिदीबहिनी मिलि कार्यक्रम समापन गरी आ-आफ्नो बासस्थान फर्कियौ | सुत्ने तरखर हुँदै थियो संगै बस्ने ३ जना दिदीहरु अचानक डाँको छोडेर रुन थाल्नु भयो , दिदीहरु रोएको देख्दा मलाइ पनि कता कता दुखे जस्तो आभास भयो |
ति मध्य एक जना मेरो काम गर्ने ठाउ देखि नजिकै काम गर्नु हुन्थ्यो , उहाँलाई म नजिकबाट चिन्दछु पनि | उहाँ आफ्नो घरपरिवारको सुन्दर भविश्य निर्माण गर्ने दृढ संकल्प लिएर एक दिन पनि छुट्टी नलिकन एकजना दिमागी सन्तुलन गुमेकी इजरायली यहुदी बुढीको रेखदेखको निम्ति रातदिन काम गरिरहनु हुन्थ्यो , अल्जाइमर रोग भएकी ति इजरायली यहुदी बुढी जुन रोगीसँग काम गर्न कति गाह्रो हुन्थ्यो त्यो त कि उहाँले नै  अनुभव गर्नु भएको थियो होला कि कुनै यस्तै रोगीसँग काम गर्न परेको जो कसैले पनि अनुभव गर्न सक्ला | दिदी यहाँ मरी मरी काम गर्नु हुन्थ्यो तर कस्तो दुर्भाग्य उता नेपालमा उहाँको लोग्नेले सधै जसो दिनमा कुनै कुनै बहानामा दोष , आरोप लगाइरहनु हुन्थ्यो रे | इजरायलमा कार्यरत सबै नेपाली चेलीबेटी माथी लगाइने यस्ता दोषहरुले इजरायलमा कार्यरत नारीहरुको छविमा उहाँ जस्ता धेरै पुरुष भनाउदाहरु बाट चरित्रहीनको उपमा पाउने कुरा सर्वविदितै थियो | त्यो दिनको त्यो दिदीहरुको रुवावासिले मेरो मनभित्र विद्रोहको तुफान चलाइदिएको थियो | एउटी अविवाहित नारी भएकाले होला भावी दाम्पत्य जीवनलाई लिएर मेरा आँखामा धेरै सुन्दर सपनाहरु सजिने गर्छन कि विवाहपछि मेरो लोग्नेले पनि मिठो माया , सम्मान र इज्जत दिनेछ जसको बदलामा भरपुर सम्मानका साथमा जीवनभरी उहाँलाई म साथ् दिनेछु चाहे संगै बस्दा होस् या टाढा रहदा होस् म अदम विश्वासको विजारोपण उहाँको मनमा गर्न सकुँ र बादलमा उहाँले पनि त्यहि विश्वासको गुण तिर्नु हुनेछ तर विवाहित नारीहरुको वास्तविकतालाई नियाल्दा इज्जत , मान सम्मान र विश्वास मात्र स्वास्नीले दिएको देखियो र धेरै जसो पुरुषले आफ्ना जीवनसाथीलाई मात्र आफ्नो इशारामा नाँचेको , सधै आफ्नो डरको घेराभित्र रहेर आफ्नो अधिनमा बसोस भन्ने चाहँदा रहेछन् त्यसैले पुरुषहरु जानाजान आफ्ना स्वास्नी माथी विभिन्न आशंका गर्ने , अरुको मन  गढन्ते कुरामा विश्वास गर्दै हामीलाई मानसिक होस् या शारीरिक रुपमा यातना दिंदै आइरहेका छन् |
 
                                        तर हामी नारीहरु विरोध गर्नुको सट्टा उनीहरुको इशाराको कठपुतली बनी आफु नारी हुनु परेकोमा आफ्नो भाग्यलाई धिक्कार्दै चुपचाप रोएर बसिरहन्छौ | हामी सही हुँदा हुँदै पनि सही बाटोमा हामी चल्दा चल्दै पनि छोरीको जन्म हारेको कर्म भन्दै झुठ्ठा र नचाहिंदा आरोपहरु खेपेर रुंदै नारी हुनु परेकोमा शोक मनाउदै बसिरहन्छौ | के रुंदैमा ? शोक मनाउदै मा ? अपशोच गर्दै मा हामी आफुलाई नारीको स्वरुप बाट पुरुषको आकारमा परिवर्तन गर्न सक्छौ त ? निसन्देह ! हामि सबैलाई बोध भएको कुरा हो यो हामी कहिल्यै पुरुष हुन सक्दैनौ र पुरुष पनि आफुलाई नारीको आकारमा बदल्न सक्दैनन् | नारी हुनुमा गर्व गर्दै आफ्नो हक अधिकारको र आत्मा सम्मानको निम्ति आवाज न उठाएर जहिले आफुलाई कम्जोर सावित गर्छौ | तर वास्तवमा हामी कम्जोर अवश्य छैनौ कम्जोर बनाइएको छ हामीलाई हाम्रै लोग्नेहरू द्वारा | आमा बनेर सन्तानका आँखामा सार्थकता , स्वप्निल संसार भर्न उनी सक्छिन् भने किन आफुलाई महान हुँ भनी विश्वास गर्न सक्दिनन् ? एक असल गृहिणी बनेर आफ्ना लोग्नेको हरेक कामकाजमा मार्ग दर्शन दिन सक्छिन् भने हरेक विपन्नताका साथ् कठोर बनी श्रीमान संग हातमा हात मिलाई अघि बढ्नका निम्ति सहासको बाटो बन्न सक्छिन् भने आफ्नो परिचयलाई " नारी " हुँ भन्नलाई किन पछि पार्छिन त ? आफ्नो परिचय लिन आफैले हो संघर्ष गर्नु पर्ने , हो आफैले | छोरी बनेर मातापिताको सेवा गर्न सक्छिन् , बुहारी बनेर सासु ससुराको स्याहार सम्भार गर्न सक्छिन् , आमा बनेर सन्तानलाई असल बनाउन सक्छिन् , श्रीमती बनेर श्रीमानको प्रेरणाको श्रोत बन्न सक्छिन् भने किन आफैलाई वेसहारा , कम्जोर र परजीवी सम्झी नारी हुन परेकोमा विष्मातको आँशु बहाउने ? ए सम्पूर्ण नारी हो ! किन आफुलाई कम्जोर बनाउछौ ? एकपटक आफ्नो असली रुपलाई नियालेर हेर त , त्यहाँ तिमीहरुले आफुलाई कस्तो अवस्थामा पाउछौ ? के साँच्चै नै तिमीले भने झैं हामी कम्जोर भएको भए यति ठुला ठुला कामको अभिभारा हामीमा आउंथे होला त ? कति यथार्थहरु हाम्रा आँखा अगाडी प्रमाणित भै सकेका छन् | जस्तो हामीले भनेको सुनेका छौ कि " बाबु मरे सन्तान आधा टुहुरो हुन्छ र आमा मरे पुरै " यो उखान मात्र हैन कि सत्य सावित पनि हो | यदि नारी प्राकृतिक रुपमै कम्जोर भै दिएको भए बाबुको निधन पछि दुवैको माया प्रेमले सन्तानलाई ओतप्रोत पार्न सफल हुने थिइनन् | नारीले तब आफ्नो अस्तित्व गुमाउछिन जब उनीहरु परिवार र श्रीमानको पासविक व्यवहारबाट विक्षिप्त बन्छिन | हामी नारीलाई धर्तीसँग दाँज्ने गर्छन किनकि नारी त्यो महान आत्मा हो जसमा करौड़ो माइल यात्रा गरेपनी कहिल्यै टुंगो लाग्दैन , करौड़ो मान्छे , पशु पंक्षी लगायत सब चीज वस्तुले रातो दिन माडेर धुलो बनाए पनि कहिल्यै ऐया दुख्यो  भनेर दुख नमान्ने तिनै धर्ती माताकी स्वरुप हुन नारी | नारी ति हुन कुनै एउटा धोबीको कुरामा विश्वास मान्दै आफ्नो पवित्र पतिव्रता स्वास्नी सीतासंग अग्नि परिक्षा लिने रामको अविश्वासलाई कठोर परिक्षा दिईकन् विश्वास दिलाउन सक्ने आइमाई | नारीहरु हो हामी कति पनि नडराउ , आफ्नो हैसियतमा कतै पनि नडगमगाउ , इतिहास देखिनै विजय सत्यताको हुँदै आएको छ , जिन्दगीको मोडहरुमा आउने समस्याहरु संग धेर्यताका साथ् जुटेर लडौ , आफ्नो आत्मा सम्मानको निम्ति , हक अधिकारका निम्ति र स्वाभिमानका निम्ति सधै संघर्ष गरौँ ताकी हामी स्वदेश मा रहेपनि विदेशमा रहेर कामकाज गरेपनि आफ्नो स्वाभिमान माथि हाम्रो सच्चरित्र माथी किन्चित ! कुनै पनि पुरुषको मिथ्य आरोप नलागोस | हाम्रो स्वाभिमानी यो जिन्दगी संग चरित्रहिनका प्रश्न चिन्ह लगाउने दुस्सहास कुनै पुरुषले नगरोस |
नारी एउटा मैनको दिप सरह बलेर , आफुलाई पगालेर , जलेर अरुलाई उज्यालो दिन हरदम परिवारमा समर्पित हुन्छिन उनि आफु डडेर खाग बनी अरुलाई रोशनी दिइरहेकी हुन्छिन भने त्यही आगोको लार्भा भनेर किन उनि यो पापी दुनियाँमा तप्किन सक्दिनन् ? नारी कुनै मुर्तिकारले कुदेर बनाएको निर्जीव मुर्ति हैन , हामी सजीव हौँ , हामी भित्र पनि श्वासप्रश्वास हुन्छ , रक्त संचार हुन्छ र हामीमा चेतना , सहास , हिम्मत , माया प्रेम , आशा , विश्वास सबै कुरा सजीव बनेर रहेका छन् जो एउटा मानवमा हुन्छन , तर हामीलाई मानवको सट्टा पनि एक छोरी , बुहारी , नातिनी र स्वास्नीको उपमा द्वारा कोरिएका निश्चित परिधिभित्र हामीलाई बन्ध गर्ने पुरुष .... ऊ पनि हामीहरु झै मानव हो फरक छ त मात्र लिंगमा ऊ पुलिंग हामी स्त्रिलिंग | त्यसैले हामीमा कुनै पनि खास विभेद छैन साथी हो , गल्ती सबैका हुन्छन तर गल्तिको त्यो अवस्था सम्म पर्याउने पुरुष भने जहिले " पानी माथिको ओभानो " नै देखिन्छ | एकपटक गहिरिएर सोंचौ त , आफ्नो घरपरिवारको सुन्दर जीवन बनाउने , सन्तानको उज्जल भविश्य बनाउने दृढ संकल्पका साथ् हामी यहाँ दिनरात नभनी काममा लागि परेका हुन्छौ तर तिनै श्रीमतीहरुका लोग्ने भनाउदाहरुले लगाएको लाञ्छना , हाम्रो चरित्र माथि उठाईएको चोर औलालाई हामीले लडाउनु पर्छ तर सत्य , सही र वास्तविकतामा रहेर | अब हामीलाई यसरी शारीरिक र मानसिक दुवै तवरले सामुहिक बलात्कार गर्नेहरुलाई कुनै स्थान दिएर हामी कम्जोर नबनौ किनकि आफ्नो स्वाभिमानका दाग लाग्ने यिनै समाजमा रहेका दुर्गन्धित मानसिकताबाट ग्रसित व्यक्तिका कारणले हो , त्यसैले सावधानी अपनाएर स्वतन्त्रताका साथ् नारी विरुद्द हुने अत्याचारको पराकाष्टलाई जरै देखि उखेली निर्मुल पारौ |

                                                          अन्त्यमा सबै दिदीबहिनीमा अपिल गर्न चाहन्छु कि हामी कोहि नारी भएकोमा अफसोच नगरौ बरु गर्व गरौँ नारी हुन पाएकोमा जसले यो संसारमा जननीको रुप पाएकी छिन् | गर्व गरौँ कि उनैको संरचनाले गर्दा आज संसार बनेको छ र पुजा गर्न सिकौं ति नारीहरुलाई जसको मातृत्वको वात्सल्यले सम्पूर्ण जगतलाई ओतप्रोत बनाइ दिएको छ |





सजना गुरुङ " प्रयत्न "
हाल इजरायल

No comments:

Post a Comment