Sunday, May 27, 2012

प्रेमबाट जन्मन्छ सबथोक !

जीवनमा मन
कठोर मनमा कोमलता ,
सम्झाई अनि बुझाईमा सकारात्मकता ,
विश्वासमा निष्कपट अनि निश्छलता ,
प्रतिकूल परिस्थितिमा
हिम्मत सहास र वीरता ,

हारहरुमा प्रेरणा र आशा ,
मान्छेको मनमा मान्छेकै निम्ति आत्मियता ,
यी सुरुवात कही बाट हुन्छ भने ?
म त भन्छु ,
प्रेमबाट जन्मन्छ सबथोक !


सारा सारा गल्तीहरुलाई
क्षमा दिने मन ,
टुटिसकेको सम्बन्धलाई
जोड्न खोज्ने मन ,
फाटेका साइनो अनि नाताहरु
सिउन चाहने मन ,
घमण्डलाई त्यागेर विनम्रतामा
झुक्न खोज्ने मन ,
आफै जली जगतमा
रोशनी ल्याउन खोज्ने मन ,
यी सुरुवात कही बाट हुन्छ भने ?
म त भन्छु ,
प्रेमबाट जन्मन्छ सबथोक !


म बाट हामी ,
एकल बाट दाम्पत्य ,
परिवार देखी समाज ,
राष्ट्र अनि विश्वमा ,
हत्या हिंसा , द्वन्दहरु मेटी
खुशी अनि शान्तिमय वातावरण ल्याउन ,
झैझगडा को अन्त्य गरी मेलमिलाप गर्न ,
मनमनमा सहिष्णुता र सम्झौताको बीज छर्न ,
यी सुरुवात कही बाट हुन्छ भने ?
म त भन्छु ,
प्रेमबाट जन्मन्छ सबथोक !


धर्मभक्त,शुक्रराज,दशरथ,गंगालाल
देशको प्रेममा हाँसीहाँसी शहीद बने ,
प्रेम कै कारण देवकोटा र गान्धी
महान अनि देवता समान बने ,
प्रेमद्वारा नै सफल बनिन
संसारकी आमा बन्न मदर टेरेसा पनि ,
दयाको अविनाशी मुहान ,
सहयोग अनि सहानुभूतिको सगरमाथा,
मातृत्व र आफ्नोपनको महासागर
यी सुरुवात कही बाट हुन्छ भने ?
म त भन्छु ,
प्रेमबाट जन्मन्छ सबथोक !


सजना गुरुङ

No comments:

Post a Comment