कुरा २०५४ सालको हो , जुनबेला म कक्षा सातमा पढ्दथे | भाद्र महिनाको पहिलो हप्ता थियो | बर्खे विदा सिद्दिएर पढाई सुरु भएको दोश्रो हप्ता | वर्खा मास | मेरो घरदेखि विद्द्यालय जान दुइ घण्टा लाग्थ्यो | मेरो विद्द्यालय दोभानमा थियो र जाने बाटोमा धेरै खोलाहरु पनि त्यसैले हजुर आमा सम्झाउनु हुन्थ्यो जानु अघी , “ नानी जोगाएर हिड्नु , पौडी खेल्ने भनेर खोलामा नपस्नु बर्खा मास लेख तिर पानि पर्दा खोलाहरु एक्कासी बढेर आउँछ अनि ठुलै दुर्घटना पनि घटना सक्छ | “ यस्तै यस्तै भन्दै होशियारी अपनाउने अनुरोध गर्नु हुन्थ्यो |
बिद्द्यालय पुगेपछि जब बिचमा एक घन्टाको बिश्राम बिदा हुन्थ्यो हामि सबै केटीहरु बिद्द्यालय पछाडिको तालमा र केटाहरु बिद्द्यालय अगाडिको तालमा हरेक दीन पौडी खेल्ने गर्थ्यौ | त्यो दीन हामी केटीहरु एउटा बाजी राखेर पौडिन थाल्यौ | बर्खा याम खोला बढेर अति ठुलो हुन्थ्यो | बाजी यसरी राखियो , तालको माथिल्लो भागमा एउटा ठुलो ढुंगा थियो जस ढुंगा सम्म हामीले भेलैभेलबाट पौडिदै पुग्नु पर्ने छ र जो पुग्नेछ त्यसलाई आजको खाजा फ्री | नौ दश गाउँदेखि छ कक्षा देखि दश कक्षा सम्मको अध्ययनका लागि सबै त्यहाँ आउने हुनाले विद्यार्थीहरु धेरै हुन्थ्यौ | महिलामित्रहरु पुलभरि र वरपरको ढुंगाहरुमा बसेर पौडनेहरुलाई यसरि हेर्दथे कि त्यहाँ कुनै मेलै लागेको छ | आज समझदा हाँसो लाग्छ , टीसर्ट र लामो मेडी लगाएरै हामी पौडी खेल्ने गर्थौ | खेल सुरु भयो , भेल डरलाग्दो थियो त्यसैले धेरै सहभागी हुन चाहेनन् , हामी पच्चिस जना सहभागी भयौ , दश जनामा दुइ जना त्यो भेलको बाटो हुँदै ठुलो ढुंगा सम्म पुगे अरु पुग्न सकेनन् | एघारौ पटक मा मेरो नाम आयो , जबसम्म आफ्नो पालो आउदैन तबसम्म आँखा बन्द गराइन्थ्यो पछ्यौराले बाँधेर | म ताल निर पुगे अनि जहाँ निर माथिबाट खोला को भेल तेजगतिमा आइरहेको थियो त्यहि गएर उभिए | मलाई मनमनमा पुरा बिश्वास थियो कि म सजिलै त्यो ढुंगा सम्म पुग्नेछु भनेर | पौडिन सुरु गरें , म जति माथि जान खोज्थें खोलाको भेलले मलाई तलतिरै धकेल्थ्यो , धेरै प्रयास गर्दा बल्ल तल्ल तालको बिच भागमा पुंगे तर त्यहाँबाट लाखौ प्रयास गर्दा पनि अगाडी बढ्न सकिन , माथितिर बाट पानि तेजगतिमा आइरहेको थियो र म त्यो भेलसँग लड्दै अगाडी बढ्न खोजिरहें निरन्तर तर जति प्रयास गर्दा पनि बिचमै रहें , बिच भागमा खोला पनि गहिरो थियो हात चलाउन छोड्न साथ म डुब्नेछु भन्ने कुरा म राम्ररी जान्दथे ! माथि जान खोज्छु तर सक्दिन , लगभग पन्ध्र बिस मिनेट सम्म म लडिरहे भेलसँग तर हारें , हातखुट्टा गलेर आयो , तनमनदेखि नै हरेस खाएँ ! सोंचे अब मेरो जिन्दगी समाप्त भयो ! अब म मर्नेछु यहि डुबेर किनकि मैले बाच्नको लागि म यो खोलाको भेलसँग जुधेर त्यो ढुंगा सम्म पुग्नै पर्छ र अब म कुनै पनि हालतमा त्यो ढुंगा सम्म पुग्न सक्दिन , अब मैले मर्ने पर्छ यहि पानिमा डुबेर ! त्यो बेला मात्र यहि सोच्यो मेरो थाकेको , हारेको मनमष्तिष्कले अरु केहि बिकल्प नै भेटिन , उपाय नै देखिन बाँच्न र आफुलाई बचाउनको लागि अनि पूर्ण रुपमा हरेस खाए मैले र यति नै हो मेरो जिन्दगि अब सकियो भनेर हात खुट्टा चाल्नै छोडिदिए , म डुब्दै थिए ! मेरो यस्तो अवस्था देखेर साथीहरु पनि अतालिए सबै उपाय बिहिन भएर चिच्याईरहे | अचानक एक जना दिदि बोल्नु भयो , “ सजना ! हात खुट्टा चलाउ र भेल्सँगै तलतिर बग्दै जाउ छिटो छिटो “ पानीको कति घुट्को निली सकेको थिएँ मैले ! फेरी पनि त्यो दिदीको आवाजले शीघ्र बाँच्छु भन्ने आशा भरिदियो मनमा अनि हातखुट्टा चलाउदै खोलाको भेलसँगै तलतिर बग्दै गएँ अनि आफैलाई बचाउन सफल भएँ ! सबै साथीहरु आए मेरो छेउमा मेरो त सातोपुत्लो नै उडिसकेको थियो , मृत्युको मुखैमा पुगेर फर्की आए | शरीर पुरै थरथरी काँपिरहेको थियो | धेरै रोएँ म तर खै किन दुखले कि हर्षले ?
त्यस घटनाबाट बुझे मैले कि जब हामि हरेस खान्छौ उपायको कुनै बाटो नभेटिने रहेछ बस त्यति बेला जिन्दगीको अन्त्य नै विकल्प जस्तो लाग्ने रहेछ ! यदि मैले हरेस नखाएको भए अवस्य म सोच्न सक्थे कि त्यो ढुंगामा नपुगे पनि म बाँच्न सक्छु , खोलाको भेलसँगै फर्किएर , किनारा लागेर आफुलाई बचाउन सक्छु | तर हरेस खानाले कुनै उपाय भेट्न सकिन त्यो बेला | त्यस दिनदेखि , त्यस दुर्घटना देखि जाने जस्तोसुकै परिस्थितिमा पनि हरेस नखाई धेर्यता को साथमा आशावादी भएर हरेक परिस्थितिबाट पार लाग्ने उपायहरु सोच्नु र खोज्नु पर्दोरहेछ भनी ! आदरणीय दिदि जगन गुरुङ लाइ बारम्बार यो मनले लाखौ धन्यबाद दिई रहन्छ र दिईरहनेछ किनकि वहा ले त्यो घढी मा मेरो जीवन बचाउनु भयो !
सजना गुरुङ
No comments:
Post a Comment