Tuesday, November 20, 2012

चेतना



                                          जीवन जिउनलाई सजिलो छैन त्यसमा पनि स्वाभिमानी नेपाली बनेर नेपाल जस्तो गरीब अनि राजनैतिक अस्थिरता भएको देशमा जागिर खाएर सिंगो परिवार प्रतिको कर्तव्य निभाएर जिउन फलामको चिउरा चपाउनु जस्तै | बिहान उठ , घरको काम सक , बच्चाहरुलाई स्कुल पठाउ त्यसपछी जागिर खान जाउ , आउ फेरि ट्युसन पढ्न आएको बच्चाहरुलाई पढाउ | समझदार जीवनसाथी पाएर धेरै सन्तुष्ट भने छु | यो भन्दा पनि अरु धेरै र महत्वपूर्ण कुरा हाम्रो जीवनसंग जोडिएको छ त्यो हो आफ्नाहरुको दुखसुखमा सहभागी हुनु |
                     आकाश ढोकाभित्र छिरेको मात्र के थियो पूर्ण हतारमा भनें मैले “ आकाश ! म भथेलाइ स्याई स्याई गर्न गए ल , हजुर खाना बनाउनु होला , म जति सक्दो छिटै फर्कने कोशिस गर्छु | “

            “ जो अज्ञा मेरी रानी ! “ हाँस्दै मेरो अनुरोधलाई स्विकार गर्नु भयो आकाशले |

                                        स्कुटी लिएर लागें म सृजना चोक को मेरो भथेको घर | भैरवा जाँदा हुन पुगेको भयङ्कर बस दुर्घटनाबाट मेरो भथे बाँचेर आउनु भएको थियो ! एक हप्ता पोखरा अस्पतालमा काटेपछि आज बिहान मात्र घर फर्किनु भएको थियो | ढोका मात्र के उघारेकी थिएँ ? सबै आफन्तहरुले बैठक कोठा भरिएको र गुन्जिएको पाएँ | बैठक कोठाको एक छेउमा भथे र आथे सँगै बस्नु भएको थियो अनि छेउमै भांग्रा र लुंगीको खात थियो | शायद सबै स्याई स्याई गरेको कपडा नै थियो त्यो | सबैलाई सम्बोधन गर्दै म भथेसामु पुगें छेउमा अन्खरामा पानी राखिएको थियो थोरै पानी हातमा लिएर आथे भथे दुवैलाई छ्यापे र रुपा लगाइ दिएर स्याई स्याई गरें | आफुसंग ल्याएको फलफुलको झोला पनि दिएँ | त्यसपछी अरु हालखबर सोध्न थाल्दै थिएँ पछाडिबाट कसैले मलाई कोट्यायो र भन्नु भयो , “ नानी ! तिमी ओमप्रसादको साइला भाइको छोरी होइन र ? क्याम्पसमा पढाउने ? ‘

              “ हजुर ; हो त | “ मैले मुसुक्क हासेर उत्तर दिएँ |

“ तिम्रो भथे त्यति ठुलो बस दुर्घटनाबाट बाँचेर आउनु भएको छ अनि तिमी उस्को आफ्नै छोरी भएर के हो ? यस्तो एक तान्द्रो धागो स्याई स्याई गर्न आउने ? यति साह्रो कन्जुस्याई चाही गर्नु भएन है नानी | “

                                  वहाँको कुरा सुनेर मलाई झनक्क रिस उठ्यो तर रिसलाई शान्त पारेर आफुले जाने बुझेको शिक्षा यहानेर सबैलाई सुनाउ , बुझाउ लाग्यो | “ धन्यबाद ! भगवानलाई जो वहाँले धनको साथसाथै मलाई बुद्दी विवेक पनि दिनुभयो जसको कारण म सही गलत छुट्याउन सक्छु | यदि म गरिब भएर यस्तो गर्थे भने सबै यसलाई मेरो बाध्यता सम्झन्थे तर म आर्थिक रुपमा सबल भएरै पनि आफ्नो रितिरिवाज , परम्पराको नाममा रवाफ देखाउन मन पराउदिन र धनि वर्गको शौखिन इच्छा अभिलाषाको कारणले गर्दा विकृति भित्रियोस् भन्ने पनि म चाहन्न | म हाम्रो आफ्नै तमुहरुको परापुर्व कालदेखी चली आएको रितिरिवाजसँग धेरै माया गर्छु र यसलाई आजन्म बचाई राख्न चाहन्छु | हामी जस्ता चेतनशील र आत्मबोध भएका मान्छेहरुले नै त हो संस्कारलाई परिमार्जन गरेर सबै वर्गका तमुहरुले सहज र सरल रुपमा मान्न र मनाउन सक्ने हुनुपर्छ भन्ने सोंचको विकास गर्ने | यदि हामी सबैले स्याई स्याई किन गरिन्छ भन्ने कुराको सत्य र वास्तविक अर्थ बुझेर स्याई स्याई गर्ने हो भने हामी मध्यको अर्थात हाम्रो आफ्नै कति गरिब आफन्तहरु महँगो भांग्रा , लुंगी र धेरै पैसा दिन नसकेकै कारण चाहेर पनि भेटघाट गर्न आउन नसकेर आफ्नो गरीबीपनलाई धिक्कार्दै बस्नु पर्ने थिएन | साह्रै सस्तो लुगा लिएर वा सबैले भन्दा थोरै पैसा दिंदा सबैको सामु आफैलाई सानो सम्झेर मन दुखाउदै , रुवाउदै बस्नु पर्ने  थिएन | “

                    बीचैमा मेरो भथेले कुरा काट्दै भन्नु भयो , “ हाम्रो छोरीको कुरा धेरै सही हो , आज सम्म हामीले यसबारे त सोंच्दा पनि सोंचेनौ सधै देखिने र देखाउने होडबाजी मै लागिरह्यौ | लाहुरे मान्छे यस्तै हो अनि हाम्रो समाजमा यस्ता सही कुराको चेतना दिने , फैलाउने तमुहरु को पनि त धेरै कमि छ | “

           “ स्याई स्याईको अर्थ कसैको हराएको वा गएको सातो भेट्टाएको या फेला पारेको भन्ने हुन्छ | स्याई स्याई गर्दा प्रयोग गरिने भनेको या नभई नहुने भनेको ‘ प्हैरु ‘ अर्थात् रुपा हो | यो रुपा सूतिको काँचो धागोबाट पुरुषको लागि नौ सरा नौ गाँठा जसले नौ पितृ जनाउछ र नारीको लागि सात सरा सात गाँठा जसले सात मातृ जनाउछ | यो घाटीमा लगाउन मिल्ने लम्बाई भएको डोरीलाई बेसार , खरानी र पानीमा मुछेर पहेलो बनाउनु पर्दछ | रूपालाई घाँटीमा लगाउँदा शुभ हुन्छ भन्ने तमुहरुको पारम्परिक आस्था र विस्वास छ | परापूर्वकालमा एकार्कालाई सुख , शोक , सफलता सबै किसिमका सुभ अशुभ काममा आफन्तहरुले रुपा लगाएर नै सम्बन्धित व्यक्तिलाई स्याई स्याई गरेको पाइन्छ | स्याई स्याइमा रुपा नै सबै भन्दा महत्वपूर्ण हुन्छ भन्ने चेतना हामी तमुहरुलाई दिनु र हुनु अति आवश्यक छ | आफ्नाहरुको दुख सुखमा सहभागी हुनु नै अर्को महत्वपूर्ण कुरा हो | त्यसकारण संस्कार परम्परा भनेको जुनसुकै वर्गका तमुहरुले खुशी खुशी सहज र सरल रुपमा मनाउन वा प्रचलनमा ल्याउन सक्ने हुनुपर्दछ तब मात्र सस्कार साँचो अर्थमा संस्कार हुन्छ र दिर्घायु पनि हुन्छ | यसलाई हरकोहीले निरन्तर रुपमा अगाडी बढाउदै लैजान सक्दछ | “ मैले जाने अनुसार सबैलाई बुझाउने प्रयत्न गरें |

              “ लौ नानीले हाम्रो आँखा खोलिदियो | आज पो स्याई स्याइको साँचो अर्थ बुझ्न सक्यौं | यस्तो चेतना हामीले अब हाम्रो सम्पूर्ण तमु समाजलाई दिनु पर्दछ | र यसरि नै स्याई स्याई प्रथालाई अगाडी बढाउदै लैजानु पर्दछ | धेरै खुशी लाग्यो नानीको कुरा सुनेर | “

       मलाई आभास भै रहेथ्यो पूर्णरुपमा सबैमा चेतना भर्न नसके पनि केहि हदसम्म चेतनाको रश्मी छर्न म सफल नै भएँकी थिएँ |

                                               
                                                      * समाप्त *


सजना तमु “ प्रयत्न “
कुश्मा , पर्वत
हाल – इजरायल
 

No comments:

Post a Comment