Saturday, January 5, 2013

अस्तित्वहीन मेरा इच्छाहरु.....

मेरो रहर
बेहुली बनी,
सुन्दर संसार सृजना गर्ने चाह गर्छ ,
मेरो इच्छा
जीवनसाथीको हात समाई
कहिले नछुट्ने साथ्
अनि अजम्बरी मायाको चाह गर्छ ,

एउटी असल स्वास्नी बनी
आफ्नो त्याग र तपस्याले
लोग्नेको खुशी र प्रतिष्ठाहरु समेट्ने ,
एउटी असल आमा बनी
आफ्नो ममतामयी वात्सल्यमा
सन्तानका सुन्दर भविष्यहरु हुर्काउने
एउटी असल बुहारी बनी
आफ्नो विनम्रता र सेवाले
सासु ससुराका निरास दिलहरुमा उत्साही रंग भर्ने ,
बस यहि इच्छा हुन्छ मलाइ ,
एक पुजारण बनी
घरलाई मन्दिरको स्वरूप दिने ,
परिवारको माझ रही उनीहरुकै खुशीमा
जिन्दगीको सार्थकता आभास गर्ने ,
तर,
जसै वास्तविकतामा आउछु ,
थाह पाउँछु ,
र देख्छु ,
सपनासरी टुटछन् मेरा रहरहरु
मेरा योजनाहरु र चाहनाहरु ,
अपत्यारिलो संग भात्किदिन्छ मेरो इच्छारुपी घर ,
अनि बनिदिन्छन अस्तित्वहीन मेरा इच्छाहरु
बाँकी केहि रहन्छ भने
परिवारको तृष्णामा एकोहोरो भौतारिरहेको
बिदेशी भूमिमा उभिन बाध्य
मेरो एक्लो तन र एक्लिएको मन ...!
लाखौ कोशिस गर्दा पनि बदल्न नसकेको
मेरो दुर्भाग्यहरू
मात्र दुर्भाग्यहरू ...!

No comments:

Post a Comment